NP EN

वर्तमान सरकार गठनपछि देशमा विकासको लहरः प्रधानमन्त्री

९ साउन (२०८२), जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताउनुभएको छ । 

महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताउनुभयो । 
उहाँले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको तराई–मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माणसहित देश र जनताका पक्षमा काम गरिरहेको स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासहित विकास र सुशासनका लागि बनेको वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, सडकलगायत आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै विकास निर्माणका काम द्रूतगतिमा अघि बढी उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो ।    
नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट गर्नुभयो । 
उहाँले महोत्तरीको मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटन भएसँगै यस क्षेत्रका जनतालाई जनकपुरसँग जोड्न तथा स्थानीय व्यापार व्यवसाय, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य सबै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्मित प्रशासकीय भवनको उद्घाटन 
आजै, प्रधानमन्त्री ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुुभयो ।
‘आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नका लागि अनुरोध गर्दछु’, उहाँले भन्नुभयो– यो भवन निर्माण हुनु पक्कै पनि खुुसीको विषय हो । यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु ।
प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इञ्जिनियरहरूको प्रशंसा गर्नुभयो । 
उहाँले मुलुकभर विभिन्न सरकारी कार्यालयका भवन निर्माण हुने कार्य द्रूत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।

अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृह उद्घाटन
यस्तै, आजै महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गर्नुभयो । 
नवनिर्मित प्रसूतिगृहले यस भेगका महिलालाई दिने सेवाले सुत्केरी अवस्थाको जोखिम न्यूनीकरणमा योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । 
उहाँले प्रसूतिगृहको उद्घाटन भएसँगै यस भेगका गर्भवतीलाई राहत मिल्ने र उपचारका अभावमा यसअघि व्याप्त मातृशिशु समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो । 

गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षय कोष घोषणा
महोत्तरीमा प्रधानमन्त्री मुलुककै जेठो विद्यालय मानिएको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल)का वटुकको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गर्नुभयो । आज मटिहानीमा गुरुकूल अवलोकन गर्नुभएका प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो ।
गुरुकूलले प्राचीन भाषा र संस्कृतिको जगेर्नामा योगदान दिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । 
यो गुरुकूल विसं १७७५ मा स्थापना भएको मानिएको छ । यस गुरुकूलमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको अभिलेखबाट देखिन्छ । पहिले ब्राह्मणहरूका लागि मात्र पठनपाठन गरिने यस विद्यालयमा अब सबै जातजातिका विद्यार्थी पढ्न पाउँछन् ।
प्रधानमन्त्री ओली गुरुकूल पुग्नुहुँदा प्रधानाध्यापक ईश्वरी पौडेलसहित वटुकले स्वागत गरेका थिए । 

सम्बन्धित