२० साउन (२०८२), आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताउनुभएको छ ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताउनुभयो ।
‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो’, उहाँले भन्नुभयो– यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो ।
यसैगरी, प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी)मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ उच्चस्तरीय विषयगत बैठकमा सम्बोधन गर्नुभएको छ ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्नुभएको हो । उहाँले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिनुभयो ।