३ साउन (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटव्यूरोको चौथो बैठकले सचिवालयबाट पारित भई आएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरेको छ । अब यो प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने छ ।
पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा हिजो र आज बसेको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमा केन्द्रित भएर घनिभूत छलफल भएको थियो । बैठकमा ६६ जना पोलिटव्यूरो सदस्यहरूले छलफलमा भाग लिनुभएको थियो ।
बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । विधान संशोधन प्रस्तावमा पार्टीको केन्द्रीय कमिटी २५१ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यस्तै १५ जना पदाधिकारी रहेको स्थायी कमिटी र केन्द्रीय कमिटीको एकतिहाइ पोलिटव्यूरोको प्रस्ताव गरिएको छ । पार्टीको कार्यकारी पदमा ७० बर्ष उमेरहद र दुई कार्यकाल पनि हटाइएको छ । पार्टीमा दुई प्रकारका सदस्यहरू रहने व्यवस्था गरिएको छ– सदस्य र सङ्गठित सदस्य ।
बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित राजनीतिक घटनाक्रम, पार्टीको कार्यभार र कार्यदिशा, आफ्नो नेतृत्वमा गठन भएको सरकारको एकबर्षको कामको समीक्षा लगायत समग्र पक्ष सम्बोधन हुनेगरी मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक अवस्था, सदस्यता नवीकरण, पार्टी कमिटी र जनसंगठनहरूका अधिवेशन÷महाधिवेशनको अवस्था लगायत विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । पोलिटव्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको महासचिव पोखरेलले जनाउनुभएको छ ।
बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले)मा आबद्ध भएर राजनीतिमा सक्रिय हुने सार्वजनिक अभिव्यक्ति र पार्टी सदस्यता नवीकरणका सम्बन्धमा पनि गम्भीरतापूर्वक विषय प्रवेश भएको र यस विषयमा उपयुक्त समयमा पार्टीले निर्णय लिने निष्कर्षमा पुगेको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।