NP EN

पार्टीभित्र बलियो एकताको आवश्यकता छः अध्यक्ष ओली

-नेपालले भारतको एक इन्च भूमि पनि मिचेको छैन, संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति असत्य र राष्ट्रहितविपरीत 

-प्रतिनिधि सभा सदस्यको निर्वाचन तमासा मात्र, निर्वाचन परिणाम पूर्व निर्धारित 

-सामाजिक सञ्जाल नियमन गर्न अदालतले दिएको आदेश मान्दा कसरी  हुन्छ मानवअधिकारको उल्लङ्घन ?

२० जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई आफूले गम्भीरताका साथ लिएको र यस परिस्थितिमा पार्टीलाई अगाडि बढाउने सङ्कल्प गरेको बताउनुभएको छ ।  
पार्टीको केन्द्रीय संगठन विभागले बुधबार आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले तत्काल नेतृत्व नछाड्ने बताउनुभयो ।   
अनुकूल अवस्था हुँदा मात्रै नेतृत्वमा रहने र कठिन परिस्थितिमा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको उहाँले स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर आन्दोलनमा लागेको होइन । 
आफूलाई पार्टी अध्यक्षका रूपमा चुनिनुको उद्देश्य नै कठिन परिस्थितिमा पार्टी र सङ्घर्षको नेतृत्व गर्नु रहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले कठिन परिस्थितिमा जिम्मेवारीबाट भाग्ने सोच आफूमा नरहेको स्पष्ट पार्नुभयो ।
‘म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्था आयो भने पार्टीका विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने स्थिति बन्छ’, उहाँँले भन्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टीभित्र मजबुत र व्यापक एकता आवश्यक रहेकामा जोड दिँदै एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको र सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताउनुभयो । 
कतिपय नेताहरूले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन । 
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा बोल्दै अध्यक्ष ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको र संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति असत्य र राष्ट्रहितविपरीत रहेको बताउनुभयो । 
‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ अध्यक्ष ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमाथि आघात पुगेको र यस्तो अभिव्यक्ति कसको हित र कुन उद्देश्यका लागि दिइएको हो भन्ने प्रश्नसमेत उठाउनुभयो ।
उहाँले भन्नुभयो– कसको हितका लागि ? कसको पक्षमा ? नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा कसका लागि र केका लागि बोलियो ?
भदौ २३ र २४ को घटनाको छानबिनका नाममा मानवअधिकार आयोगले फलानालाई कारबाही गर्नु भनेर सिफारिश गरेकोप्रति  असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई समेत कारबाही गर्न सिफारिश गरेको भन्दै सामाजिक सञ्जाल नियमन गर्न अदालतले दिएको आदेश मान्दा कसरी मानवअधिकारको उल्लङ्घन हुन्छ भनी प्रश्न गर्नुभयोे ।  
सरकारले सम्पत्ति छानबिन गर्न थालेको सन्दर्भमा अध्यक्ष ओलीले आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने  स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– भएको एउटा घर खरानी पारेर फेरि सम्पत्ति विवरण चाहियो ? मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?
अध्यक्ष ओलीले सरकारले जनताका वास्तविक समस्या समाधान गर्नुभन्दा राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर विपक्षी दलका नेता तथा कार्यकर्तामाथि निगरानी र छानबिनको अभियान चलाएको बताउनुभयो । 
राज्यका निकायहरूलाई निष्पक्ष र कानुनसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने भन्दै राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा गरिने गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी पनि दिनुभयो । राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने उहाँले बताउनुभयो । 
सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताउनुभयो । उहाँले भन्नुभयो–अराजकता केही दिनको पाहुना हो, लामो समय चल्दैन ।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तमासा मात्र भएको र निर्वाचन परिणाम पूर्व निर्धारित परिणाम भएको उहाँले बताउनुभयो ।

सम्बन्धित